नेकपा एमालेको दसौं महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन्। एमाले प्रचार विभागले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार २७ कात्तिकमा महाधिवेशन प्रतिनिधि चयन हुनेछ।निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि चयन हुने पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। एमाले महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेछन्। तर उनीहरूलाई मताधिकार नदिइने भट्टराईले बताए। यसैगरी प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना दरले निर्वाचित हुने प्रतिनिधि चयन हुनेछन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधिले पनि महाधिवेशनमा भाग लिने पाउनेछन्। सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि चयन हुने भट्टराईले जानकारी दिए। तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्नेछ।
देशभित्रका विशेष जिल्लाअन्तर्गतका १२०० सम्म पार्टी सदस्यमध्येबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले निर्वाचित हुने प्रतिनिधि चयन हुनेछन्। सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप एक जना, १६०० सम्म सदस्य थप भएमा थप दुई जना, २४०० सम्म सदस्य थप भएमा कम्तीमा एक महिलासहित तीन जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि चयन हुनेछ। तीन जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा एक जना महिला अनिवार्य हुनुपर्नेछ।
यस्तै देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने एक जनाप्रतिनिधि चयन हुनेछन् भने सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप दुई जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा एक महिलासहित ३ जना र सोभन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरिएको छ। तीनजना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्छ।
भूगोलका प्रदेशअन्तर्गतका मजदुर पार्टी सदस्यमध्येबाट कम्तीमा तीन महिलासहित सात जनाका दरले निर्वाचित हुने प्रनितनिधि महाधिवेशनमा सहभागी हुन पाउनेछन्।यस्तै भारत, अमेरिका (क्यानडासमेत), युरोप, एसिया प्यासिफिक, खाडी र ओसियानामध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित हुने प्रतिनिधि पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन्।
पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तीमा दुई महिलासहित पाँच जना प्रतिनिधि र विभागका सचिव एवम्सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेकोमध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने व्यवस्था छ।
महाधिवेशनमा नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपालका सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने छन्।
यसैगरी पेसागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालका सदस्यहरूबाट कम्तीमा दुई महिलासहित पाँच जनाका दरले निर्वाचित प्रतिनिधिले महाधिवेशनमा भाग लिन पाउने व्यवस्था गरिएको भट्टराईले जानकारी दिए।





