काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा प्रधानमन्त्री दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । साथै, प्रधानमन्त्रीले नेपालमा आएको रसुवा–भोटेकोसी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरे ।
प्रधानमन्त्रीले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका छन् । त्यसक्रममा राजदूत दलेलाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए ।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।








