काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यसका लागि अदालतले छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।
सर्वोच्चले यस विषयमा सरकारसँग लिखित जवाफसमेत माग गरेको छ । सरकारको निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्की गत कात्तिक २० गते सर्वोच्च पुगेका थिए । आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीले रिटमा गरेका थिए ।
कात्तिक १८ गतेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो भने डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गरेको थियो ।








