नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन साहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् ।नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बिहान ११ बजे दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटवार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग र विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने तथा केही सहमति र सम्झौतामा हस्ताक्षर वा आदानप्रदान हुने कार्यक्रम छ । भेटपछि प्रधानमन्त्री साह र मोदीले संयुक्त रूपमा केही आयोजना उद्घाटन गर्नेछन् । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा पनि सहभागी हुनेछन् ।यसअघि प्रधानमन्त्री साह आज बिहान राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नेछन् ।
प्रधानमन्त्री साहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारकर्मी सहभागी छन् । प्रधानमन्त्री साह दुईदिने राजकीय भ्रमणका कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।








