Logo
१३ मंसिर २०८३, आईतवार
|  Sun Nov 29 2026

‘हामी झोला बोक्ने होइनौँ,हामी पछि लाग्ने होइनौँ,सँगै हिँड्ने हो,झोलालाई छोडेर स्मार्ट डायरी सुरुवात गरौँ’


कर्णाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएको झोलाको सट्टा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गरेका छन् ।

शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सभापति लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताए ।

उनले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राखे ।

’उनले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिने झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिए। फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्री राख्न सकिने उनको भनाइ थियो।

लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिए। पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ थियो।

लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले आफूले व्यक्तिगत रूपमा कम्तीमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गरे।

उनले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रैका आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताए । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उनले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यास सुरु गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !
विचार