सल्यानको कपुरकोट गाउँपालिकाअन्तर्गत खारखोलामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परेर १० पुरुष र २ महिलाको मृत्यु भएको हो। जिल्लाको दुल्धारापोखराबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आज बिहान ११ बजे कपुरकोट गाउँपालिकाको खारखोलामा दुर्घटना भएको हो।
दुर्घटनामा परी ६ जनको घटनास्थलमा र अन्य ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मृत्यु हुनेमा २ जना बालबालिका पनि छन् । घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी २८ जना घाइते भएका जनाइएको छ। घाइते भएकाको जिल्ला अस्पताल सल्यान, श्रीनगर सल्यान तथा दाङको तुलसीपुर अस्पतालमा उपचार सुरु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक (डीएसपी) गोविन्द थापाले जानकारी दिए।





