पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले एमसिसीले देशको विकास गर्ने बताएका छन्। भारत र चीनले यसबारेमा भ्रम छरेको आरोप समेत लगाएका छन्। जनता समाजवादी पार्टीको पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान लिएर गोरखाका गाउँपालिका र नगरपालिकाबाट अभियान थालेका भट्टराईसँग स्थानीयले राखेको जिज्ञासाको जवाफ दिँदै उनले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै एमसीसीबारे भ्रम छरेको बताए।
यसमा भारत र चीन लागेको उनको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उनको तर्क थियो। उनले एमसीसीबारे शंका नगर्न आग्रह गरे। एमसीसीले देश खान्छ भन्ने भ्रम हो भन्दै उनले भने, ’एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् । यी सबै भ्रम हुन्। के त्यस्तो भए, नेपाली सुरक्षाकर्मी के हेरेर बस्छरु हामी चुप लागेर बस्दैनौँ नि।
यस्तै उनले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने दाबी गरे। आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमा अल्झँदा आफू दुखी भएको भन्दै मतदातालाई आश्वासन दिन भ्याए।





