नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले हालै गठन गरेको समन्वय समिति आवश्यक नरहेको बताएका छन्। आज सर्वोच्च नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा सम्बोधनका क्रममा नेता सिंहले यस्तो बताएका हुन्।
‘समन्वय समिति त्यति आवश्यक छ जस्तो मलाई लागेको छ। त्यो त कम्युनिस्टहरुले सरकारलाई पनि कन्ट्रोल गर्ने गरी अघि बढेको हामी देख्छौ,’ नेता सिंहले भने, ‘डेमोक्रेटिक वेमा यो आवश्यकता देख्दिनँ। सरकारले पो काम गर्ने हो। यो त विधि विपरित हो नि।’
सत्तारुढ पाँच दलीय गठबन्धनले सरकारका काम कारबाहीमा सहयोग भन्दै सोमवार ११ सदस्यीय समन्वय समिति गठन गरेको थियो। हाल गठबन्धनको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तोकिएको छ।





