Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

मापसे गर्नेलाई पिँजडामा थुन्ने !


भारतको गुजरात राज्यको मोतिपुर भन्ने गाउँमा जाड रक्सी खानेलाई स्थानीयले पिँजडामा थुन्ने नियम बनाएका छन् । मापसे गरेर सार्वजनिक हो होल्ला गर्ने जो कोहीलाई रातभर पिँजडामा थुन्नुका साथै जरिवाना समेत तिराउने नियम स्थानियले बनाएका हुन् । गाउँमा मापसेकै कारण धेरैले ज्यान गुमाउनु परेपछि स्थानीयले सार्वजनिक ठाउँमा एउटा ठूलो पिँजडा बनाएका छन् ।
मोतिपुरका प्रायः युवाहरु मपसेको लतमा फसेपछि स्थानीय महिला र मोतिपुर गाउँका प्रधानपञ्च बाबु नायकको अगुवाईमा यस्तो सजाय थालनीमा ल्याइएको हो । मोतिपुरको सार्वजनिक ठाउँमा मान्छे अटाउने पिँजडा राखिएको छ । मापसे कर्ता जो हुन्छन् उनीहरुलाई रातभर पिँजडामा थुनिन्छ अनि दुई हजार रुपैंयाँ जरिवाना लिइन्छ । यसप्रकारको सजायको व्यवस्था गरेपछि भने मापसे सेवन गर्नेहरुको संख्यामा कमी आएको स्थानीय महिलाहरुले बताएका छन् ।
मोतिपुर गाँउका मापसे सेवकलाई दिएको सजाय प्रभावकारी भएपछि वरपरका अन्य २३ भन्दा बढि गाँउमा पनि यो उपाय अपनाउन थालिएको छ । ती गाउँमा मोतिपुरको भन्दा बढी नै रकम जरिवाना बापत तिराउँने गरिएको छ । ती गाउँहरुमा मापसे गर्नेले पच्चीस सय रुपैंयाँ तिर्नुपर्छ ।
गाउँमा जसले मापसे गरेको छ , सूचना दिने मान्छेलाई गोप्य राखिने र जरिवानाबाट उठेको रकमको केही हिस्सा दिने समेत त्यहाँ व्यवस्था गरिएको छ । जरिवाना बाट उठेको बाँकी रकम सामाजिक कार्यमा लगाउँने गरेको पाइएको छ ।
मापसे गर्नु आफैंमा नराम्रो बानी हो । तर, मापसे गर्नेलाई यसप्रकारको सजाय दिनु अझ नराम्रो भन्दै केही मानव अधिकारवादीहरुले आपत्ति समेत जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार