नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्यक्ष पदमा उठ्ने नउठ्ने टुंगो गरिनसकेको बताएका छन्। काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले अहिलेसम्म आफूले निर्णय गरिनसकेको बताए। उनले आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने बताए।
‘मैले अहिलेसम्म उठ्ने नउठ्ने टुंगो गरिसकेको छैन, ओलीले भने, मैले उठ्ने निर्णय गरेँ भने मलाई सर्वसम्मत छोड्न पनि पाइन्छ, नभए उठ्न पनि पाइन्छ। मैले कसैलाई नउठ भन्ने कुरा हुँदैन।’
‘मलाई भीम रावलले चुनौति दिनुभएको होइन, सुझाव दिनुभएको हो। आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। बढी खट्नुभएको छ, थकाइ लाग्या होला आराम गर्नुहुन्छ कि ! म उठ्छु भन्नुभएको हो।’ ओलीले थपे, ‘उहाँको सुझाव एक खालका मानिसहरुले मन पराउने खालका छन्, मैले विश्राम लिए हुन्थ्यो भन्ने केही पार्टी बाहिरकाको पनि छ।’
नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ थियो। उनले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए।





