नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजसम्म ३२ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बाँकी जिल्लामा पूर्व निर्धारित कार्यतालिकाअनुसार शुक्रबारदेखि जिल्ला अधिवेशन प्रारम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये रसुवाबाहेक सबैमा पार्टीको जिल्ला अधिवेशन भएको र परिणाम आउने क्रममा रहेको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
यसैगरी १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये हाल १२२ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन भएको र बाँकीमा अधिवेशन हुने क्रममा रहेको उनले बताए । अधिवेशन प्रारम्भ भएका जिल्लामा मतदान भई परिणाम प्राप्त भइरहेको, मनोनयन गरी मतदान भइरहेको, सर्वसम्मतिको प्रयास भइरहेको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुन्छन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जना र बढीमा २७ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्था छ ।
हाल प्रारम्भ भइसकेका १२२ निर्वाचन क्षेत्रबाट तीन हजार बढी महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । चौधौँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६ गते लागि निर्धारण गरिएको थियो ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते शुक्रबार हुदैछ भने प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औं महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुनेछ ।
कुन जिल्लामा को सभापति?
डोटी – नरेन्द्रबहादुर सिंह
डोल्पा– दीपेन्द्रबहादुर शाही
जुम्ला – कर्णबहादुर शाही
जाजरकोट – बेदराज सिंह
ओखलढुंगा– तेजेन्द्र खनाल
लमजुङ – टकराज गुरुङ
डडेलधुरा – भीमबहादुर साउद
पाँचथर – रुपनारायण जवेगु
सल्यान – केसबहादुर बिष्ट
रोल्पा –किशोर आचार्य
मनाङ – शंकर गुरुङ
बझाङ – खडक बोहरा
हुम्ला – मोहनविक्रम सिंह
ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
रामेछाप – कान्छाराम तामाङ
मुगु – ऐनबहादुर शाही
म्याग्दी – खमबीर गर्बुजा
दोलखा – बर्मा लामा
कालीकोट – अम्मबहादुर शाही
बाजुरा – रामसिंह रावल
रुकुम पश्चिम– प्रेमप्रकाश वली
तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे
भोजपुर – विनोद बान्तावा
प्यूठान – विष्णुकुमार गिरी
अर्घाखाँची – केशव श्रेष्ठ
बैतडी – चतुरबहादुर चन्द
रुकुमपूर्व – केशरमान रोका
मुस्ताङ – रोमी गौचन थकाली
संखुवासभा – दीपक खड्का
गोरखा – नन्दप्रसाद न्यौपाने





