नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्। महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिको समेत उपस्थिति छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, लोकतान्त्रिक समाजवादी दलका अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गरिसकेका छन्। त्यस्तै, सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी भएका छन्।
महाधिवेशनको सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारणसमेत गरिएका छन्। यससँगै ५० ठाउँमा आकर्षक स्वागतद्वार बनाइएको छ। उद्घाटन सत्रलाई व्यवस्थित गर्न कार्यक्रमस्थल र बाहिर पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ। पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले उद्घाटन सभामा देशभरबाट पाँच लाखभन्दा बढी एमाले नेता कार्यकर्ता सहभागी हुने बताएका थिए। ठूलो सङ्ख्यामा मानिसको उपस्थिति हुने भएकाले १३ स्थानमा गाडी पार्किङस्थल बनाइएको छ। मालबाहक सवारी साधनलाई रोकेर अत्यावश्यक र यात्रुबाहक सवारी साधनलाई भने गन्तव्यतर्फ पठाउन वैकल्पिक मार्गसहितको व्यवस्थापन गरिएको छ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुँदै छन्।भट्टराईका अनुसार प्रतिनिधिमध्ये पाँच प्रतिशत अर्थात् १०६ जना मनोनीत गरिएका हुन्। प्रतिनिधिमा २०९ दलित, उत्पीडित र ६२७ महिला छन्।
कुल प्रतिनिधि सङ्ख्याको ३० प्रतिशत महिला, १० प्रतिशत हाराहारी दलित, उत्पीडित रहेको उनको भनाइ छ। महाधिवेशनमा सल्लाहाकार १५ जनासहित पाका–पुराना १०३ जना पर्यवेक्षक रहने बताइएको छ।





