Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

ओलीले तयार पारे पदाधिकारीको सूची, को को अटाए ?


नेकपा एमालेको महाधिवेशन बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। उनले अध्यक्ष आफै रहने र अध्यक्षका अर्का प्रत्याशी भीम रावललाई उपाध्यक्ष बनाउने गरी पदाधिकारीको सूची तयार पारेका हुन्।

ओली निकटका नेता विष्णु पौडेल र सुवास चन्द्र नेम्वाङ, महेश बस्नेत, गोकुल बाँस्कोटालगायत नेताहरूले असन्तुष्टि जनाएका छन् । एक नेताका अनुसार ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरेका छन्। ओलीले महासचिवमा शंकर पोखरलेको नाम राखेका छन्।

तीन उपमहासचिव पदमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यस्तै, ७ जना सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो।

वरिष्ठ उपाध्यक्षका आकांक्षी नेम्वाङले यो सूचीप्रति असन्तुष्टि जनाएका छन्। उनले ईश्वर पोखरलेलाई वरिष्ठ उपाध्यक्ष मान्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन्। त्यस्तै ओलीले बनाएको पदाधिकारीको सूचीप्रति महासचिवका पदका आकांक्षी विष्णु पौडेलले पनि असन्तुष्टि जनाएका छन्। उपाध्यक्षको सूचीमा परेका पौडेलले आफूले महासचिव पद नै पाउनु पर्ने दाबी गरेका छन्।

सचिव पदका दाबेदार महेश बस्नेत, गोकुल बाँस्कोटा, शेरधन राई, पद्मा अर्यालले पनि पदाधिकारीको सूचिप्रति असन्तुष्टि जनाएका छन्। आफूहरूको नाम नपरेपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। आफू निकट नेताहरूले नै असन्तुष्टि जनाएपछि ओली अप्ठेरोमा परेका छन्। नेताहरूको असन्तुष्टिका कारण सूची सार्वजनिक गर्न नसकेका ओलीले नजिकका केही नेताहरूसँग छलफल गरेर नामहरू थपघट गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार