Logo
२२ कार्तिक २०८३, आईतवार
|  Sun Nov 8 2026

ओमिक्रोनकाे त्रास: मुस्ताङ प्रवेशमा कडाइ, पीसीआर रिपोर्ट वा पूर्ण खोप अनिवार्य


कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए ।

हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो ।

मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागु नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।‘मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागु हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,’ प्रजिअ शर्माले भने, ‘नेपाल भित्रिएका बाह्य पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।’


प्रतिक्रिया दिनुहोस !
विचार