Logo
१ श्रावण २०८३, शुक्रबार
|  Sat Jul 18 2026

मेसी र एमबाप्पे चम्किँदा पीएसजीको सहज जित


लियोनल मेसी र काइलियन एमबाप्पे चम्किँदा पीएसजीले मंगलबार राति च्याम्पियन्स लिगमा क्लब ब्रुगलाई ४–१ ले हराएको छ । पीएसजीले यसअघि नै नकआउट चरणमा स्थान पक्का गरिसकेको थियो ।

फ्रान्सका फरवार्ड एमबाप्पेले सात मिनेट बित्न नपाउँदै दुई गोल गरिसकेका थिए । दोस्रो मिनेटमा एमबाप्पेको गोलबाट अग्रता लिएको पीएसजीले सातौँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । यससँगै दुई साताअघि मात्र २३औँ जन्मदिन मनाएका एमबाप्पे च्याम्पियन्स लिगमा ३० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

एमबाप्पेकै पासमा ३८औँ मिनेटमा पीएसजीका मेसीले अर्को गोल थपे । म्याट्स रिट्सले ६८औँ मिनेटमा गरेको गोलबाट क्लब ब्रुगले पुनरागमनको प्रयास गरेको थियो । तर, ७६औँ मिनेटमा मेसीले पेनाल्टीमा अर्को गोल थपिदिएपछि पीएसजीले तीन अंक पक्का गरेको थियो ।

जितका बाबजुद पीएसजी ११ अंकका साथ समूह ‘ए’को दोस्रो स्थानमा रह्यो । पराजित क्लब ब्रुग चार अंकका साथ पुछारमा रह्यो । १२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहेर नकआउट चरणमा स्थान बनायो ।


प्रतिक्रिया दिनुहोस !
विचार