Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देउवाले जित्ने र हार्ने सम्भावना कति ?


कांग्रेस सभापतिमा ५ जना नेताहरु चुनावी भिडन्तमा रहेपनि मुख्यतः तीन नेताका बीचमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । कल्याण गुरुङ र विमलेन्द्र निधि चुनावी मैदानमा त छन् तर, सभापतिका रुपमा अहिलेको चुनावमा उनीहरुलाई कमजोर उम्मेदवारका रुपमा विश्लेषण गरिएको छ ।
बलिया उम्मेदवारका रुपमा धेरैले शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई लिएका छन् । शेरबहादुर देउवा बहालवाला सभापति र प्रधानमन्त्री भएका कारण पनि भएभरको शक्ति लगाएर उनले मतदातालाई आफ्नो पक्षमा पार्ने आंकलन गरिएको छ । तर, शेरबहादुर देउवा १३ औं महाधिवेशनमा जति शक्तिशाली थिए त्यो शक्ति भने यो महाधिवेशनमा आइपुग्दा निश्चय नै केही क्षिण भएको छ । १३ औं महाधिवेशनमा उनको बलियो खम्बाका रुपमा रहेका विमलेन्द्र निधि यसपटक आफैं चुनावी मैदानमा छन् । निधिले चुनावी नतिजा आफ्नो पक्षमा पार्ने क्षमता त राख्दैनन् तर, देउवाको केही भोट कटाउँनमा भने उनी सक्षम देखिन्छन् । विशेषगरी तराई क्षेत्रको केही भोट निधिका पक्षमा पर्ने देखिन्छ । जति भोट निधिका पक्षमा पर्छ त्यो भोट १३ औं महाधिवेशनमा देउवाका पक्षमा परेको भोट हुनेछ ।
हुन त यसपटक देउवाले कृष्णप्रसाद सिटौलाको साथ शुरुमै पाएका छन् । यो कोणबाट हेर्दा देउवालाई थोरै भएपनि राहत मिले जस्तो देखिन्छ । तर, सिटौलालाई आफ्नो खेमामा ल्याएर देउवाले जुन बहादुरी गरेको ठानेका छन् त्यो भने उनको कमजोर बुझाई रहेको कतिपयको विश्लेषण छ । बालकृष्ण खाँण, ज्ञानेन्द्र बहादुर कार्की जस्ता आफ्नो खेमाका एकसे एक नेतालाई साइड लगाएर देउवाले सिटौलाको जोडबलमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएबाट देउवा खेमाका धेरै सिनियर नेताहरु उनीसँग बिच्किएका छन् । बाहिरी रुपमा देउवासँगको असन्तुष्टी प्रकट नगरेपनि देउवा पक्षका सिनियर नेताहरु भित्रभित्रै देउवासँग मुर्मुरिएका छन् । जसको प्रत्यक्ष असर चुनावी मैदानमा देउवालाई पर्ने निश्चित छ । तर, यति हुँदाहुँदै पनि देउवा सभापतिका अन्य दुई प्रतिष्पर्धी प्रकाशमान सिंह र डा. शेखर कोइरालाका लागि ठूलो चुनौती हुन् ।
यसअघि एउटै समुहमा रहेका डा.शेखर कोइराला र प्रकाशमान सिंह एक आपसमा भिड्दा त्यसको प्रत्यक्ष लाभ भने देउवालाई हुने देखिएको छ । यसपटक देउवाका लागि सबैभन्दा काइदाको विषय नै यही हो । प्रकाशमान सिंह र डा. शेखर कोइराला मिलेर चुनावी मैदानमा होमिएको भए देउवाका लागि यो चुनाव फलामको चिउरा चपाए सरह नै हुने थियो । तर, संस्थापन इतर समुहमा आएको विभाजनले देउवालाई ठूलो राहत मिलेको छ । तैपनि यही कारण देउवा सभापतिमा विजयी हुन्छन् भन्ने आधार भने बलियो छैन ।
नेपाली कांग्रेसको विधानमा सभापति जित्नका लागि कुल मतको ५१ प्रतिशत ल्याउनैपर्ने बाध्यकारी व्यवस्था छ । ५१ प्रतिशत मत कुनै उम्मेदवारले पनि ल्याउन सकेन भने फेरि दोस्रो चरणको चुनावमा जानुपर्छ । देउवा पहिलो चरणको चुनावबाटै विजयी भए भने बेग्लै कुरा नभए दोस्रो चरणमा प्रवेश गर्ने अवस्था आयो भने त्यतिबेला संस्थापन इतर समुह मात्र होइन विमलेन्द्र निधि पनि देउवाका विपक्षमा उभिएर सबै मिली देउवालाई निवर्तमान सभापति बनाइदिन सक्छन् । यही बुझेर हुनुपर्छ देउवाले पछिल्लो समय भावुक अभिव्यक्ति दिन थालेका छन् । आफू सभापतिमा पराजित भएको अवस्थामा आफूलाई प्रधानमन्त्रीबाट पनि कम्युनिष्ट शक्तिले आउट गर्ने र त्यो अबस्थामा आगामी स्थानीय, प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको नराम्रो पराजय हुन सक्ने भएकाले विशेष ध्यान दिन उनले महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । तर, यो आग्रह प्रतिनिधिले सुन्छन् या सुन्दैनन् त्यो भने हेर्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !
विचार