मंगलबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने उल्लेख छ । मंगलबार दिउँसो २ बजे बस्ने बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
संभावित कार्यसूची सार्वजनिक गर्दै सचिवालयले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश हुने जनाएको छ।
त्यसैगरी रेल्वे अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि पेश हुनेछ। आफूले कारबाही गरेका सांसदहरुलाई कारबाहीको सूची टाँस नगरेको भन्दै विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले आफूहरुको विरोध जारी रहने जनाएको छ





