राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले हाल दलहरूबीच जारी एमसीसी विवादले नेपाल विदेशी शक्तिको रणनीतिक रणभूमिमा परिणत हुँदै गरेको पछिल्लो उदाहरण भएको बताएका छन् । एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनका दलबीच नै मतभेद भइरहेका बेला राप्रपाका पूर्वअध्यक्ष थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत राजा महेन्द्रबाट कूटनीति सिक्न सुझाव दिएका हुन्।
‘नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत हुँदै छ। एमसीसी विवाद त्यसको पछिल्लो उदाहरण हो’, थापाले लेखेका छन्, ‘शीतयुद्ध चरमोत्कर्षमा रहेको बेला दुवै महाशक्ति राष्ट्रहरू अमेरिका र सोभियत संघबाट सहयोग लिएर देश विकास गर्ने राजा महेन्द्रको कूटनीतिक कौशल, दूरदर्शिता र साहसबाट पाठ सिकौं।’
नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ पाँचदलीय गठबन्धनले एमसीसी संसदबाट पारित गर्नेबारे साझा धारणा बनाउन ३ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पाँचदलीय गठबन्धनको बैठकले कार्यदल गठन गरेको हो।





