प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीलाई सर्वोच्च प्रशासनले सर्वोच्च परिसरमा नारा जुलुस नर्गन निर्देशन दिएको छ। हरेक दिन २ घन्टा सेवा प्रभावित भएको र सर्वोच्च परिसरमा जुलुस तथा नारावाजी गर्दा त्यसले नराम्रो सन्देश गएको भन्दै रोक लगाउने तयारी स्वरुप सर्वोच्च अदालत बार र नेपाल बार एसोसिएनका अध्यक्षलाई सन्देश पठाइएको थियो। सर्वोच्च प्रशासनको यो तयारीपछि मंगलबारै सुरक्षामा खटिएका प्रहरीले शान्त रुपमा अदालत प्रवेश गर्न र माइक प्रयोग नर्गन भनेको थियो।
प्रशासनमार्फत आन्दोलनरत कानून व्यवसायीलाई सर्वोच्च अदालत परिसरमा प्रदर्शन नगर्न भने पनि यसको उद्देश्य राणाविरुद्धको आन्दोलन दवाउनु रहेको भन्दै बारका पदाधिकारी छलफलमा जुटेका छन्।
प्रधानन्यायाधीश जबराको निर्देशनमा सर्वोच्च अदालत प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यलाई फोन गरेर प्रदर्शन र नारावाजी नगर्न भनेकाले आफूहरु झनै दवाव दिने रणनीति बनाउन लागेको बारका एक पदाधिकारीले बताए।
बारका अध्यक्ष श्रेष्ठले नैतिक रुपमा आफू पतन भएपछि अदालतबाट बिदा हुनुपर्नेमा झन दमन गर्न लागेकोले आफूहरु पछि नहट्ने बताए। सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि आफूहरुको आन्दोलन कसैको निर्देशनमा सुरु नभएकोले कसैले भन्दैमा नरोकिने बताए। उनले आफूहरु नियमित रुपमा आन्दोलनमा जाने र त्यहाँ बल प्रयोग भएमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने उनले बताए। बारले कात्तिक ११ गतेदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ।





