विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टीबाट निष्कासित गरेको विषयमा प्रतिक्रिया दिएका छन् । मंगलबार अध्यक्ष रविन्द्र मिश्रले पार्टीको बैठकबाट पाण्डेलाई पार्टीबाट निष्कासित गराउने निर्णय पारित गराएका थिए ।पार्टीबाट निकाल्ने निर्णय अवैधानिक भएको भन्दै पाण्डेले त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् । उनले पार्टीको मुद्दा अहिले निर्वाचन आयोगमा रहेको भन्दै त्यहाँबाट न्याय नपाए अदालत जाने बताएका छन् । उनले पार्टीको विधान च्यात्नेलाई पार्टीको नाम, चुनाव चिन्ह र पहिचान प्रयोग गर्ने अधिकार नभएकोसमेत टिप्पणी गरेका छन् ।
मिश्रले धर्मनिरपेक्षता र संघीयता विरोधी नीति लिएपछि विवेकशील साझामा विवाद शुरु भएको थियो । सोही विवाद् बढ्दै जाँदा मिश्रले पाण्डेलाई पार्टीबाटै निष्कासित गरेका हुन् ।विवेकशील साझा पार्टीको एकीकरण घोषणापत्र, विधान र विचार विपरीत एकाएक पार्टीमा पश्चगामी, संविधानविरोधी, व्यवस्थाविरोधी बाटोमा हिँड्न पुगेका पार्टी अध्यक्ष रवीन्द्र मिश्रले आज अबैधरूपमा आफ्नो समूहको बैठक बोलाई मलाई पार्टी संयोजकबाट निष्कासन गरेको भन्ने समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
पार्टीभित्रको वैचारिक तथा राजनीतिक मतभिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा सो विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसाय साथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु म दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु।
अतः पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्रमाथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिन्ह र पहिचान प्रयोग गर्ने कुनै अधिकार छैन। हामी विवेकशील साझा पार्टीलाई वास्तविक विचार, नाम, शैली र पहिचानमा निरन्तरता दिनेछौँ र पार्टीमा भइरहेका अवैधानिक गतिविधिलाई निस्तेज गर्दै अघि बढ्नेछौँ।





