एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनताको साथ आफ्नो पार्टीले प्राप्त गरेकाले एमालेको बहुमत रोक्न अब कसैले नसक्ने दाबी गरेका छन् ।एमालेलाई रोक्न पाँच दलीय गठबन्धन लागे पनि नसक्ने उल्लेख गर्दै ओलीले भने, ‘जनताको साथ एमालेलाई छ । एमालेको बहुमत अब कसैले रोक्न सक्दैन ।’
आफ्नो पार्टी देशको सबै क्षेत्रको प्रतिनिधित्व गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने उनले बताए । विहीबार पर्साको जगरनाथपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै ओलीले एमाले हिमाल, पहाड र तराई मधेसका जनताको पार्टी भएकाले जनलहर आएको दाबी गरेका छन् ।
‘यो कुनै क्षेत्र विशेष वा समुदायको पार्टी हैन । सिंगो देशको पार्टी हो । सबै वर्ग समुदायको पार्टी हो,’ ओलीले भने, ‘एमालेको उद्देश्य देश बनाउने हो । त्यसैले आगामी चुनावमा बहुमत ल्याएर सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा गर्छ ।’ओलीले माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्वमा एमाले पार्टी प्रवेश गरेका सयौँ नेता-कार्यकर्तालाई स्वागत गर्न पर्सा आएका हुन् ।





