Logo
२ श्रावण २०८३, शनिबार
|  Sun Jul 19 2026

माओवादी महाधिवेशन: यस्तो छ उपत्यकाको सुरक्षा रणनीति


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौंको सुरक्षा रणनीति परिवर्तन गरिएको छ।यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप गरिएको छ भने मोबाइल गस्तीसहित सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ।

आज अपराह्न हुने महाधिवेशन उद्घाटनलाई बढी केन्द्रित गरिएको छ। सुरक्षाकर्मी बिहानैदेखि महाधिवेशनस्थल र उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन भइसकेको छ।परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले भने, ‘थप मद्दतसहित रिजर्व फोर्ससमेत तयारी अवस्थामा छ, महाधिवेशनको रूपमा गर्ने भनिसकेपछि हिजोको योजनाभन्दा थप सुरक्षा मजबुत बनाएका छौँ।’

भीडभाड कम हुने गरी ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ। अन्य सुरक्षा निकाय तथा आयोजकसँग समन्वय गरेर चुस्त सुरक्षा व्यवस्था मिलाइएको एसएसपी गिरीले बताए। राष्ट्रिय सम्मेलनमा अतिथि नआउने आफ्नै पार्टीका नेताहरु मात्रै सहभागी हुने भन्ने थियो। तर, महाधिवेशनमा परिणत भएपछि अतिथिहरूलाई समेत बोलाइएको छ।

महाधिवेशनको सुरक्षाका लागि अहिले बिहानदेखि नै तीन टोली परिचालन भइसकेको र बाँकी टोली केहीबेरमा थप गरिने प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भीडभाडको अवस्था हेरेर सोही अनुसारको ट्राफिक व्यवस्थापन मिलाउने गरी ट्राफिक सुरक्षा योजना मिलाइएको छ। विशेषगरी सम्मेलन स्थल वरपरका सवारी रुटमा विशेष व्यवस्थापन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार