Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

सिरहामा सीके राउतको आतंक, प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी


जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडकखण्डमा निषेधाज्ञा जारी गरेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीले आज र भोलि दुई दिन सिरहा बन्दको घोषणा गरेसँगै प्रशासनले ती क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जारी विज्ञप्तिमा पुस १३ र १४ गते बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग र चोहर्वादेखि सिरहा सडक खण्डको पीके राज पेट्रोल पम्पसम्म ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

उक्त अवधिभर राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात सञ्चालन हुनेछ भने बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभा र गतिविधि गर्न नपाउने सूचनामा उल्लेख छ । सूचनाको उल्लंघन गरेमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम लम्ब्याएपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीदारा जारी विज्ञप्तिमा उल्लेख छ । जनमत पार्टीले माग पूरा गर्न प्रशासनले चासो नदेखाएको भन्दै १३ र १४ गते जिल्लाभर चक्काजाम गर्ने निर्णय गरेको थियो ।

औरही गाउँपालिकाले किसानमाथि दर्ता गरेको मुद्दा फिर्ता लिनुपर्ने, पक्राउ परेका किसानहरुलाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गर्नुपर्ने, किसानलाई समयमा मल उपलब्ध गराउनुपर्नेलगायतका ७ बुँदे माग राखेर जनमत पार्टीले सिरहा बन्दको कार्यक्रम गर्दै आएको छ । जनमत पार्टीका कार्यकर्ताहरुले आइतबार १६ वटा सवारी साधन तोडफोड र एक ट्रकमा आगजनी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार