Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

विद्युत् प्राधिकरण र नेपाल एयरलाइन्सबीच भयो यस्तो सम्झौता


नेपाल विद्युत् प्राधिकरणको कार्गो (मालसामान) नेपाल वायु सेवा निगमको जहाजमार्फत ढुवानी गर्ने सम्झौता भएको छ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबीच नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विदेश भ्रमण जाँदा र कार्गो (सामान ढुवानी) गर्दा निगमकै जहाज प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको हो।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा भएको सम्झौतामा प्राधिकरणको सामान ढुवानी र त्यहाँका कर्मचारीले विदेश भ्रमण गर्दा निगमकै जहाज प्रयोग गर्ने उल्लेख गरिएको छ। कार्यक्रममा बोल्दै मन्त्री आलेले निगम र प्राधिकरणको कुशल नेतृत्वले सो सम्झौता गरेर प्रशंसनीय कार्य गरेको भन्दै खुसी व्यक्त गरे।

उनले निगमकै जहाज प्रयोग गर्न नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरु तथा निजी क्षेत्रका उद्योग र व्यापारीहरूलाई पनि आग्रह गरे। मन्त्री आलेले भने, ‘हामीले प्राधिकरण मात्रै नभएर प्राईभेट सेक्टरमा रहेका व्यापारी, उद्योगीहरुको सरसामान ओहोरदोहोर गर्दा पनि हामीले नै पाउनेछौँ। यो एउटा प्रशंसनीय काम भएको छ। यसका निमित्त आदरणीय कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्षज्यूलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु।’

कार्यक्रममा बोल्दै निगमका कार्यकारी अध्यक्ष अधिकारीले आफूहरुको सो प्रस्ताव सहर्ष स्वीकार गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई धन्यवाद दिए।यता, प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सम्झौतामा उल्लेखित गरिएका कुराहरुलाई अक्षरशस् पालना गर्ने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !
विचार