कोरोना भाइरसको शक्तिशाली भेरियन्ट ओमोक्रन फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक हजारौंमा संक्रमण पुष्टि भइरहँदा अस्पतालमा पनि बिरामीहरुको चाप बढ्दै गएको छ। हाल देशभर २५ हजार ६ सय ८० जना सक्रिय कोरोना संक्रमित छन्।
माघ २ गतेसम्मको तथ्यांक अनुसार सक्रिय संक्रमितमध्ये २४ हजार ५ सय ८४ जना होम आइसोलेसनमा छन् भने १ हजार ९६ जना संस्थागत आइसोलेसनमा।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल ७७ जिल्ला मध्ये ९ जिल्लामा संक्रमण दर बढ्दो छ। प्रदेश १ को मोरङ र सुनसरी, वाग्मतीको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन, गण्डकीको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली जिल्ला ‘रेड जोन’मा छन्। यी जिल्लाहरुमा कम्तिमा पनि ५ सयभन्दा धेरै एक्टिभ केस छ।





