नेपालमा कोरोना संक्रमण दर बढेसँगै स्वास्थ्यकर्मी पनि संक्रमित हुन थालेका छन् । केही दिनदेखि काठमाडौँ उपत्यकाका कोभिड अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने संख्या बढ्दै गएको छ । कोभिड युनिफाइड अस्पताल वीर अस्पतालमा सोमबारसम्म ७६ जना स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेशनमा बसेका छन् ।
अस्पताका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठका अनुसार स्वास्थ्यकर्मी आफै संक्रमित हुँदा उपचारमा सकस भएको छ । उपचारमा समस्या भएपछि स्वास्थ तथा जनसंख्या मन्त्रालयको समन्वयनमा करार अवधि तीन महिना थपिएको उनले बताए ।
यस्तै, वीर अस्पतालमा कोरोना संक्रमणको जानकारी दिनका लागि २४ घण्टा खुला रहने टोल फ्रि नम्बर पनि सुचारु गरिएको छ । पैसा नलाग्ने नम्बर ११३३ मा फोन गरेर सम्पूर्ण कोरोनाको उपचारको बारेमा जानकारी पाउँने उपनिर्देशक श्रेष्ठले बताए ।
त्यस्तै, स्वास्थ्यकर्मी संक्रमित हुने संख्या सबैभन्दा बढी त्रिवि शिक्षण अस्पतालमा रहेको छ । अस्पतालका कोभिड फोकल पर्सन डा। निरज बमकाअनुसार अस्पतालमा विभिन्न वार्डमा कार्यरत सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । उनका अनुसार जनरल वार्डमा २६ जना, आईसीयू १०, एचडीयूमा १० जना संक्रमित उपचाररत रहेका छन् ।





