Logo
२८ कार्तिक २०८३, शनिबार
|  Sat Nov 14 2026

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णाली तयार छ, ‘काउन्टडाउन’ सुरु: मन्त्री पोखरेल


काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ।

सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारहरूको प्रत्यक्ष स्थलगत अवलोकन पछि मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको महाकुम्भ आयोजनामा कर्णाली तयार रहेकोमा विश्वस्त रहन आग्रह गर्नुभएको हो।

अवलोकनका क्रममा मन्त्री पोखरेलले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवाला पक्षहरूसँग पूर्वाधार निर्माणका पछिल्ला विकासक्रम र बाँकी कामबारे छलफल गर्नुभयो।

मन्त्री पोखरेलले प्रतियोगिता सुरु हुन बाँकी ३० दिनको ‘काउन्टडाउन’ सुरु भएको घोषणा समेत गर्नुभयो।लामो समयदेखि विविध कारणले रोकिएको राष्ट्रिय खेलकुदलाई अब कर्णालीको भूगोलले नयाँ उचाइ दिने भन्दै उहाँले समग्र खेल क्षेत्र र खेलाडीहरू पूर्ण रूपमा उत्साही रहेको उल्लेख गर्नुभयो।

दसौँ राष्ट्रिय खेलकुद लक्षित सुर्खेत भ्रमणको क्रममा मन्त्री पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकास मन्त्री जीतबहादुर मल्लसँग पनि आइतबार छलफल गर्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस !
विचार