काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित केही न्यायाधीशमाथि बिचौलियासँग साँठगाँठ रहेको भन्दै सार्वजनिक भएका समाचारबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ ।
सोमबार विज्ञप्ति जारी गरी ट्रान्सपरेन्सीले विवादमा परेका न्यायाधीशमाथि संसदीय समितिमार्फत तथ्यगत अनुसन्धान गरी आवश्यक निर्णय लिन आग्रह गरेको हो ।
ट्रान्सपरेन्सीले न्यायपालिकाको निष्पक्षतामाथि राजनीति, सरकार र बिचौलियाको प्रभाव रहने गरेको विषयमा लामो समयदेखि प्रश्न उठ्दै आएको उल्लेख गरेको छ । पछिल्लो समय सञ्चारमाध्यममा प्रधानन्यायाधीशसहित केही न्यायाधीशको बिचौलियासँग साँठगाँठ रहेको समाचार प्रकाशित भएपछि सम्बन्धित न्यायाधीशले दिएका स्पष्टीकरणले मात्र ती प्रश्नको समाधान नहुने संस्थाको ठहर छ ।
न्यायालयमा विचाराधीन मुद्दासँग सम्बन्धित पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशले भेट्नु वा सम्पर्कमा आउनु नैतिकता र आचारसंहिताको गम्भीर उल्लङ्घन भएको टीआई नेपालको भनाइ छ ।
उसले समाचारमा नाम जोडिएका तथा सार्वजनिक रूपमा स्पष्टीकरण दिएका न्यायाधीशलाई उठेका प्रश्नको निरुपण नभएसम्म न्याय सम्पादनको काममा संलग्न नहुनसमेत सुझाव दिएको छ ।
विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता र प्रभावकारितासम्बन्धी विषयमा आवश्यक निर्णय गर्ने जिम्मेवारी संसद्को भएकाले ढिलाइ नगरी संसदीय समितिमार्फत अनुसन्धान अघि बढाउन आग्रह गरिएको छ । साथै सम्बन्धित न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउन माग गरिएको छ ।
विज्ञप्तिमा न्याय सम्पादन गर्ने व्यक्तिले कानुनले तोकेको मापदण्डभन्दा उच्च सदाचार प्रदर्शन गर्नुपर्ने उल्लेख छ ।








