Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

शेखर समूहको बैठकले गर्यो यस्तो निर्णय


नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर समूहको छ। नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग गरेको भर्चुअल संवादमा नेताहरुले सभापति देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीलगायत सहभागी थिए। उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बन्द्री पाण्डे र जीवन परियार राष्ट्रिय सभा चुनावको तयारीका लागि बाहिर रहेकोले छलफलमा सहभागी थिएनन्।

शेखर समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णय गरेको एक नेताले जानकारी दिए। ती नेताले भने, ‘वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ। त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’ सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार