नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्। विराटनगरस्थित कोइराला निवासमा आइतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिए।
नेता कोइरालाले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुंगो लगाउनुपर्ने बताउँदै ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गरे। उनले भने, ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ।’
डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिए। उनले प्रदेश १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्ने गरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको संख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राखे।








