बिहिबार गण्डकी प्रदेशसभा बैठकमा विश्वासको मत लिन नसकी पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसँग दाबी गरेको भोलिपल्ट गुरुङले दाबी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङले पनि दाबी पेश गरेको गण्डकी प्रदेशका एक एमाले नेताले जानकारी गराएका छन् ।
विश्वासको मत गुमाएका गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि धेरैले यसलाई केन्द्रको रोग प्रदेशमा सरेको भनी टीप्पणी गरेका छन् । आफूले संसदमा विश्वासको मत लिन सक्दिन भनी वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिसमक्ष आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
कांग्रेस सहितको विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति समक्ष पत्र बुझाएको केहीबेरमै ओलीले पनि पत्र बुझाएका थिए भने दुवै नेताको दाबीमा प्रमाण पुग्ने आधार नदेखिएको भन्दै राष्ट्रपतिले ओली र देउवा दुवैको दाबीलाई अस्विकार गरिदिएकी थिइन् । त्यसपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेकी थिइन् ।





