बलराम प्यासी
ललितपुर, १६ फागुन । ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले मृगौला प्रत्यारोपण गर्नुपर्ने १० जना विरामीलाई जनही ३ लाख रुपैयाँ छुट दिएर मृगौला प्रत्यारोपण गर्ने भएको छ ।
न्यून शुल्कमा सबै प्रकारको रोगको उपचार सेवा दिँदै आएको सो अस्पताललाई मृगौलालगायत मानव अंग प्रत्यारोपण विशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने लक्ष्य राखिएको छ ।
विश्व मृगौला दिवस १० मार्च २०२२ को अवसर पारेर सो अस्पतालले मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीको लागि फागुन महिनाभित्र सम्पर्कमा आएमा जनही ३ लाख रुपैयाँ सहूलियत दिएर प्रत्यारोपण गरिने अस्पताल प्रमुख अमिश पाठकले बताउनुभयो ।
यसका लागि सो अस्पतालले काठमाडौं उपत्यकाका तीनैवटा जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिसकेको र मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीहरु सम्पर्कमा आउन थालिसकेको अस्पतालका प्रशासकिय अधिकृत अक्षय प्रसाद गौतमले बताउनुभयो ।
मृगौला लिने व्यक्ति (विरामी) र मृगौला दान गर्ने व्यक्ति (दाता)को स्वास्थ्य परिक्षण, प्रयोगशाला परिक्षण, प्रत्यारोपण शुल्क, प्रत्यारोपण प्रश्चात अस्पतालको आइसियु र पोस्ट अपरेडिभ वार्डको शैय्या शुल्क समेत गरि ८ देखि १० दिनको प्याकेज शुल्क वापत ६ लाख ५० हजार रुपैयाँ लिँदै आएको सो अस्पतालले १० जना विरामीको लागि ३ लाख छुट गरि ३ लाख ५० हजार मात्र लिने निर्णय गरेको हो । प्रत्यारोपणको लागि आवश्यक पर्ने औषधिको व्यवस्था भने विरामी आफैंले गर्नुपर्छ ।
मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीको संख्या १० जना भन्दा बढी भएमा ती विरामीलाई ३ लाख रुपैयाँ छुट दिन नसकेतापनि केही न केही सहुलियत दिइने अस्पताल प्रमुख पाठकले बताउनुभयो ।
‘आर्थिक अभावका कारण विपन्न विरामीकोे मृगौला प्रत्यारोपण कार्य नरोकियोस भनेर अस्पताल प्रशासन लागि परेको छ’—पाठकले भन्नुभयो—‘त्यसैले हामी मृगौला प्रत्यारोपण गर्नैपर्ने विरामीको लागि आर्थिक सहायताको लागि दाताहरुसंग पनि गुहारिराखेका छौं ।
अस्पताल प्रमुख पाठकका अनुसार २०७७ फागुनदेखि मानव अंग प्रत्यारोपणको लागि अनुमति पाएको सो शिक्षण अस्पतालले एक वर्षको अवधिमा १४ जनामा सफल मृगौला प्रत्यारोपण गरिसकेको छ । दोस्रो चरणको कोभिड—१९ महामारी साम्य भएपछि सो अस्पतालले मृगौला प्रत्यारोपण कार्य शुरु गरेको थियो ।
१४ औं विरामीको सफल प्रत्यारोपणपछि तेस्रो चरणको ओमिक्रोन महामारीको कारण एकमहिना प्रत्यारोपण कार्य रोकिएतापनि १५औं विरामीको फागुन १६ गते सोमबार अस्पतालले मृगौला प्रत्यारोपणको तयारी गरेको छ ।

मृगौला प्रत्यारोपणको लागि सो अस्पतालमा मानव अंग प्रत्यारोपणको अधिकार प्राप्त शल्यचिकित्सक डा.नारायण प्रसाद भुषालको नेतृत्वमा ट्रान्सप्लान्ट नेफ्रोलोजिष्ट डा.सन्तोष क्षेत्रीसहित एनेस्थेसिया, मुटुरोगलगायत सम्वन्धित विशेषज्ञ शल्य चिकित्सक टोली तयारी अवस्थामा रहेको अस्पताल प्रमुख पाठकले बताउनुभयो ।
नेपालको प्रचलित कानुन अनुसार मृगौला दिने दाता र प्रत्यारोपण गर्नुपर्ने विरामीको नाता स्पष्ट भएमा र लिने र दिने विरामीको स्वास्थ्यमा कुनै समस्या नआएमा दुई हप्ताभित्रै मृगौला प्रत्यारोपणको काम गर्न सकिने अस्पतालको दावी छ । ६ देखि ८ घण्टामा मृगौला प्रत्यारोपणको कार्य सकिन्छ ।
सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण गर्न सरकारले एकजना विरामी वराबर ४ लाख ५० हजार र औषधि उपचार खर्च १ लाख रुपैयाँ दिने गरेता पनि शिक्षण अस्पताल भने रकम नदिएको अस्पतालको गुनासो छ ।






