Logo
७ बैशाख २०८३, मंगलवार
|  Tue Apr 21 2026

स्थानीयको माग अनुसार सेवा विस्तार गर्दै कोटेश्वरको ‘गौतम बुद्ध अस्पताल’


काठमाडौं, ६ चैत । कोटेश्वरको फुलबारीमार्ग, झोलुंगे पुलनेर रहेको ‘गौतम बुद्ध इन्टरनेशनल कार्डियाक हस्पिटल’ लाई स्थानीय वासिन्दाको माग अनुसार सबै किसीमका रोगका विरामीको सरल उपचार गर्ने गरि ‘जनरल अस्पताल’को रुपमा सेवा विस्तार गर्न शुरु गरिएको छ ।

यसअघि मुटु र मुटुसंग सम्वन्धित रोगको मात्रै उपचार गरिने गरि सो अस्पताल स्थापना भएको थियो । अस्पताल संस्थापकमध्येका एकजना मुटुरोग विशेषज्ञको कोभिडका कारण निधन भएपछि केही समय उपचार सेवा बन्द गरेको सो अस्पताल नयाँ व्यवस्थापनका साथ सुचारु भएसंगै स्थानीय वासिन्दाको सुझाव बमोजिम सबै किसीमको रोगको उपचार सेवा दिन शुरु गरेको हो ।

‘हामी कोटेश्वरका स्थानीय वासिन्दाको सुझाव अनुसार अस्पतालको सेवा विस्तार गर्दै टोलवासीलाई मात्रै नभई काठमाडौं महानगरपालिका वडा नं ३२ कै वडा स्तरीय अस्पतालको रुपमा विकास गर्न चाहन्छौं’—अस्पतालका व्यवस्थापक विशाल तामाङ्गले भने ।

३२ वडा अन्तर्गतका टोलहरु कोटेश्वर, फुलवारीमार्ग, सहयोगीनगर, त्रिदेवीनगर, सुर्यकोट, नरेफाँट, जडिबुटी, पाल्पाकोट, तिनकुने, कोटेश्वर महादेवस्थानको साथै ललितपुरको वालकुमारी र काठमाडौंको मिनभवन, शंखमुल र बुद्धनगरका स्थानीय वासिन्दालाई २४ सै घण्टा उपचार सेवा दिने उद्धेश्यले सो अस्पतालको सेवा विस्तार गर्ने क्रममा रहेको पनि व्यवस्थापक तामाङ्गले बताए ।

व्यवस्थापक तामाङ्गका अनुसार अस्पतालले केही दिन अघिमात्रै स्थानीय टोल सुधार समितिका पदाधिकारीहरु र टोलमा रहेका सामाजिक अगुवा तथा स्वास्थ्यकर्मीहरुसंग सुझाव संकलन गर्ने कार्य शुरु गरेको छ भने हरेक शनिवार निशुल्क ओपिडी (वहिरंग) सेवा र प्रयोगशाला शुल्कमा छुट दिने योजना अघि सारेको छ ।

नीजि स्तरको अस्पताल भएतापनि न्यून शुल्कमा उपचरा सेवा दिँदै आएको र उपचार खर्चको अभावमा कुनैपनि विरामी उपचार विना फर्किन नपरोस भन्ने अस्पतालको उद्धेश्य रहेको पनि व्यवस्थापक तामाङ्गले प्रष्ट पारे ।

सो अस्पतालले २४ सै घण्टा एमरजेन्सी सेवाको साथै मुटुरोग, मिर्गाैला, क्षयरोग, श्वासप्रस्वास, वालवालिका, स्त्री तथा प्रसुती, आँखा, नाक, काँन, घाँटी, हाडजोर्नी, नशा, मानसिक रोग, क्यान्सर, पेट र दाँत लगायतका सबै रोगको उपचार सेवा दिँदै आएको अस्पतालका प्रवन्ध निर्देशक भुवन श्रेष्ठले बताए ।

उनका अनुसार हाल सो अस्पतालमा विभिन्न रोगका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी गरि ४५ जना कार्यरत रहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !
विचार