Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

‘विद्यार्थीको टाउको किन दुख्छ?’ अनुसन्धान गर्न टर्कीका प्राध्यापक काठमाडौंमा


काठमाडौं, ६ चैत । पछिल्लो समय धेरै विद्यार्थीहरुमा उनीहरुले नियमित जस्तो चलाउने गरेको मोवाइल, आइप्याड, ल्यापटपले गर्दा या कोर्सको किताव या गृहकार्यको तनावका कारण टाउको दुख्ने गरेको पाईएको छ । केटाकेटीको टाउको दुखेपछि अभिभावकको टाउको दुख्नु नौलो भएन ।

शुरुमै टाउको दुखेको कारण पत्ता लगाएर समयमै उपचार गर्नसके टाउको दुखाईबाट हुनसक्ने माइग्रेन, आँखाको समस्या, पिनास लगायतका जटिल समस्याको बेलैमा उपचारबाट समाधान गर्न सकिने भन्दै विश्व स्वास्थ्य संगठनको समन्वयमा ‘लिफ्टिङ्ग द बर्डेन’ अभियान मार्फत टर्की र नेपालका अनुसन्धाताले देशका १० वटा विद्यालयका विद्यार्थीहरुमा नमुना अनुसन्धान थालेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको स्नायुरोग विभागका स्नायुरोग विशेषज्ञ डा.राजिव ओझाको संयोजकत्वमा टर्कीको इस्तानबुल विश्व विद्यालयको स्नायुरोग विभागकी प्रमुख प्राध्यापक एवम् टर्किस हेडेक चेम्बरकी बोर्ड सदस्य डा.डेर्या इलुडुज सहितको टोलीले आइतबार बुद्धनगर, नयाँबानेश्वरको काव्य स्कुलका तीनसय विद्यार्थीहरुमा ‘टाउको किन दुख्छ ?’ बारे लामो प्रश्नोत्तर मार्फत अनुसन्धान गरेका छन् ।

सो टोलीमा शिक्षण अस्पतालकै स्नायुरोग विभागका अर्का स्नायुरोग विशेषज्ञ डा.निरज गौतम तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्ययन गर्दै आएका ८ जना चिकित्सक शिक्षाका विद्यार्थी पनि सहभागी थिए ।

‘काठमाडौंमा एउटा नीजि र अर्काे एउटा सामुदायीक विद्यालयका विद्यार्थीहरुसंग उनीहरुको टाउको किन दुख्छ भन्ने बारेमा अनुसन्धान गर्नेछौं’—त्रिविवि शिक्षण अस्पताल महाराजगञ्जको स्नायुरोग विभागका स्नायुरोग विशेषज्ञ एवम् अनुसन्धान संयाजक डा.ओझाले भने ।
‘यसैगरि हिमाल, पहाड, तराईको साथै सबै जातजाति, रीतिरिवाज र संस्कृति भएका ६ देखि १७ वर्ष उमेरका कक्षा एकदेखि १० कक्षासम्मका विद्यार्थीहरुमा यो अनुसन्धान गर्नेछौं’—डा.ओझाले भने ।

मंगोलिया, कम्बोडिया, लिथुवानीय, मलावी लगायतका अफ्रिकन देशमा पनि यसप्रकारको अनुसन्धान शुरु गरिएको र एशियाबाट नेपाललाई छानिएको प्राध्यापक एवम् ग्लोबल माइग्रेन एण्ड पेन सोसाइटीकी उपाध्यक्ष समेत रहेकी डा.डेर्या इलुडुजले भनीन् । डा.डेर्या टर्किस हेडेक चेम्बरकी बोर्ड सदस्य र युरोपियन हेडेक फेडरेशनकी पनि बोर्ड सदस्य हुन् ।

अनुसन्धानको लागि आएका टर्किका प्राध्यापक तथा नेपाली अनुसन्धाता चिकित्सक टोलीलाई काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशक रिजन खड्काले विद्यालयमा खादा लगाएर स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार