केहिदिनदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा केन्द्रीत छ । प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरु चुनावी गठबन्धनको पक्षमा छन् भने गगन थापा, डा.शेखर कोइराला लगायतका नेताहरु गठबन्धन गर्न नहुने पक्षमा छन् । गठबन्धन नगरे कांग्रेसको हालत खराब हुने बुझाई प्रधानमन्त्री देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको छ भने गठबन्धन गर्दा कांग्रेसलाई दीर्घकालिन रुपमा घाटा हुने बुझाई गगन थापा र डा.शेखर कोइरालाहरुको छ ।
गठबन्धन नगरी चुनावमा जाँदा एमाले र ओलीले खर्लप्पै पार्ने डरले देउवा र रामचन्द्र पौडेलहरुमा घर गरेको छ । अहिले सत्तामा रहेका सहयात्री दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतसँग चुनावी गठबन्धन नगरे ती दलसँग उल्टै ओलीले गठबन्धन गर्ने देउवाको बुझाई छ । अहिले गठबन्धन नगरी चुनावमा जाँदा कम्युनिष्ट शक्तिहरु फेरि मिल्न सक्ने र कम्युनिष्टहरु मिलेको खण्डमा कांग्रेसको हालत अघिल्लो संसदीय निर्वाचनको झैं हुने डर प्रधानमन्त्री सहितका केही नेताहरुमा छ ।
अघिल्लो पटक चुनावमा पराजित भएका कांग्रेसका अधिकांश नेताहरु गठबन्धनका पक्षमा छन् । ता कि अन्य दलहरुको वैशाखी टेकेर भएपनि चुनाव जित्न सकियोस् र सांसद बन्न पाइयोस् । रामचन्द्र पौडेल अघिल्लो पटकको संसदीय निर्वाचनमा पराजित भएका नेता हुन् । गठबन्धन गरिएन भने यसपटक पनि चुनाव जितिँदैन भन्ने डर उनमा छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन नगर्दा व्यक्तिगत रुपमा आफूले डँडेल्धुराबाट चुनाव हार्छु भन्ने डर त नहोला तर, श्रीमति आरजु राणाको ठूलो चिन्ता छ । कैलालीबाट चुनाव लड्ने रहर गरेकी श्रीमति आरजु राणा फेरी पछारिने हुन् कि भन्ने चिन्ता प्रधानमन्त्री देउवामा देखिन्छ । श्रीमतिलाई जिताउँनका लागि नै भएपनि गठबन्धन गर्नपर्ने दबाबमा देउवा देखिन्छन् भने आफूले जित्नका लागि पनि गठबन्धन गर्नपर्ने लाइनमा वरिष्ठ नेता रामचन्द्र पौडेल देखिन्छन् ।
गगन थापा र डा.शेखर कोइरालाहरु तुलनात्मक रुपमा आफू सुरक्षित रहेको महसुस गरिररहेका छन् । त्यहीभएर उनीहरु गठबन्धनका पक्षमा छैनन् । आफूहरुको अबस्था पनि रामचन्द्र पौडेल र आरजु राणाहरुको जस्तै भएको अनुभूति गगन थापा र शेखर कोइरालाहरुलाई हुन्थ्यो भने सम्भवतः उनीहरु पनि गठबन्धनकै पक्षमा देखिन्थे । कांग्रेसका दुई महामन्त्री मध्ये गगन थापा गठबन्धनका विपक्षमा र विश्वप्रकाश शर्मा गठबन्धनका पक्षमा देखिनुलाई धेरैले नीजि स्वार्थका रुपमा लिएका छन् । संसदीय चुनावमा झापामा हारेका विश्वप्रकाश शर्मा गठबन्धन बेगर चुनाव लड्दा हारिने हो कि भन्ने डरमा छन् । कांग्रेसका माथिल्लो तहकै एक नेता भन्छन्, कांग्रेसका अधिकांश नेताहरुलाई भोलिको कांग्रेसको होइन अहिलेको आफ्नो अबस्थाको पिर छ ।





