झोक चलेर चुनाव लड्न महाविर पुन म्याग्दी हानिएपछि त्यहाँको चुनाव स्वभाविक रुपमा यतिबेला चासो र चर्चाको केन्द्रमा छ । महाविर पुन स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी केबी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेकपाका अर्जुनबहादुर थापा लगाएतका उम्मेदवार चुनावी मैदानमा छन् ।
म्याग्दी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले जितेको जिल्ला हो । अहिले यो जिल्लाले प्रतिनिधिसभामा फेरि नेपाली कांग्रेसलाई नै पठाउँछ या अरु कुनै उम्मेदवारलाई भन्ने कौतुहलता धेरैमा छ । महाविर पुन विज्ञान प्रविधीको क्षेत्रमा सुनिएको नाम हो भने नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका कर्णबहादुर भण्डारी पनि प्रविधीको क्षेत्रमा सुन्न थालिएको नाम हो । उनलाई चिन्नेहरुका अनुसार उनी प्रविधिको क्षेत्रमा पर्दापछाडि रहेर काम गरेका व्यक्ति हुन् । प्रविधी क्षेत्रका चर्चित अनुसन्धानकर्मी नेपाली भोटिङ मेसिनका अनुसन्धानकर्ता राम लक्ष्मण रिमालले आफ्नो प्रविधी यात्राको अभिभावक भन्दै केबी भण्डारीको नाम जसरी सगौरव लिइरहेका छन् यसबाट केबी भण्डारी पनि प्रविधीप्रेमी नेता हुन् भन्ने कुराको सञ्चार स्थानीय स्तरमा भएको छ । उम्मेदवारहरुका आ आफ्नै बलिया र कमजोर पाटा देखिन्छन् ।
महाविर पुन राष्ट्रियस्तरमा चर्चामा छन् । तर, राष्ट्रियस्तरको चर्चाले त्यहाँ काम गर्छ या गर्दैन भन्ने कुुरा अहिल्यै यसै भन्न सकिन्नँ । उनको चुनावी शैली फरक छ । चुनावी शैलीकै कारण उनी चर्चामा पनि छन् । आफ्नै फेसबुक पेजमा फ्यान फलोअर्स धेरै देखिएका कारण चुनावको प्रचारका लागि उनलाई सजिलो हुन सक्छ । तर, कतिपय विश्लेषकका शब्दमा उनको मुडी र झोकी स्वभावले उनलाई असर गर्न सक्छ । उनी मन्त्री भए । उनकै भनाई अनुसार किताब बेच्दाबेच्दैको मान्छेलाई टपक्क टिपेर मन्त्री बनाइयो । तर, उनले चुनाव गराउँने जिम्मेवारी पाएको चुनावी सरकारमा आफ्नो दायित्व पूरा निर्वाह गरेनन् । झोक चल्यो भन्दै बीचैमा मन्त्री पद त्यागेर चुनाव लड्न पुगे । त्यसअघि उनले चुनाव नलड्ने र फेरि मन्त्री नहुने तर, कसैले उसैगरी टिपेर ल्यायो भने मन्त्री भइदिने अभिव्यक्ति दिएका थिए । आफ्नै अभिव्यक्ति विपरित उनी चुनाव लड्न गए । जिम्मेवार मामलामा पनि हल्काफुल्का अभिव्यक्तिलाई उनको कमजोर पाटाका रुपमा कतिपयले हेरेका छन् । कतिपको आशंका छ झोक चलेपछि बीचैमा सरकार छाडेका महाविरले फेरि झोक चल्यो भने चुनाव जितेर आएको केहीदिनमै सांसद पद पनि नत्याग्लान् र म्याग्दीका जनतालाई अलपत्र नपार्लान् भन्ने के छ ? यी र यस्ता आशंका जो यतिबेला महाविरका लागि कमजोर पाटो बनेको छ ।
हुन त उनले मन्त्री पद त्यागेर चुनावमा होमिनुको कारण शिक्षा सम्बन्धी केही अध्यादेश अघि बढाउन नदिएको भनेका छन् । तर, ढिँडो मस्काउँदै गरेको भिडियोदेखि मन्त्रालयमै खाट हालेर पल्टिएको सम्मका भिडियो देखाउँन भ्याएका उनले मन्त्री भएकै बेला मैले यी यी अध्यादेशका लागि पहल गर्दैछु, यी यी काम गरेँ मलाई गर्न चाहिँ दिएका छैनन् भनेर किन भन्न सकेनन् अनि उम्मेदवारी दिएपछि मात्रै किन भने भन्ने प्रश्न अहिले उठेको छ । जसले उनलाई कमजोर बनाउँन सक्छ । मन्त्री बन्नुअघि महाविरका बारेमा खास आलोचना सुनिएको थिएन । तर, मन्त्री बनेपछि उनी चर्चामा रहेपनि कतिपयले उनलाई सोझो पाराको स्टन्टबाज भन्दै आलोचना गरेका छन् । मगर समुदायको ठूलो बाहुल्यता रहेको क्षेत्रमा मगर समुदायले उनलाई मत दिन सक्छन् भन्ने बुझाई पनि बलियो छ । तर, यसमा उनलाई अर्को चुनौती छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भण्डारी केबी मगर समुदायकै ज्वाईँ हुन् । अनि काठमाडौको अस्थायी बसाई पनि छाडेर करिब १५ वर्षअघि म्याग्दीमै फर्किएका व्यक्ति हुन् ।
एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठदेखि नेकपाका अर्जुनबहादुर थापा र अन्य उम्मेदवारको चर्चा पनि यतिबेला म्याग्दीमा छ । तल्लो तहसम्म पार्टीको जुन संगठन देखिएको छ त्यसले हरिकृष्ण र अर्जुनबहादुरलाई साथ दिएको देखिन्छ भने उनीहरुका चुनावी अभियान पनि अघि बढिरहेका छन् । जेनजी आन्दोलनप्रति एमालेको दृष्टिकोणका कारण एमालेका उम्मेदवारलाई केही असर गर्न सक्ने विश्लेषण स्थानीयस्तरमा छ भने कतिपयले फरक धारको सोही दृष्टीका कारण उनलाई फाइदा पुग्न सक्ने पनि आंकलन गरेका छन् ।
२०७४ र २०७९ को निर्वाचनलाई फर्किएर हेर्ने हो भने म्याग्दीमा कांग्रेस एमालेबीच नै कडा प्रतिष्पर्धा भएको क्षेत्र हो । २०७४ मा एमालेले जित्दै गर्दा २०७९ मा कांग्रेसले जितेको थियो । यसअघि चुनावी गठबन्धन भएपनि अहिले बिना गठबन्धन दलहरु चुनावी मैदानमा छन् । मान्छेहरुका तर्क आ आफ्नै छन् । कसले जित्ला र के होला भन्ने विषयमा अनेकन अनुमानहरु गरिँदैछन् । तर, कसका अनुमान मिल्छन् र कसका मिल्दैनन् भन्नका लागि भने फागुन २१ सम्म पर्खनै पर्ने हुन्छ ।





