अमेरिका । अमेरिकाको भर्जिनियामा पत्नी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नेपाली मूलका नरेश भट्टले पत्नीको शव टुक्रा पारेको अदालतमा बयान दिएका छन् । बिहीबार अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा पत्नी ममताको ढलेको शरीर फेला पारेपछि टुक्रा पारेको बताएका हुन् ।
उनका अनुसार ममताको अनुहार र भुइँमा बान्ता देखिएको थियो । बान्तामा रगत, खानाका टुक्रा, औषधिका क्याप्सुल तथा कीटनाशकका रूपमा प्रयोग हुने उच्च शक्तिको कृषि रसायन ‘सेल्फोस’को संकेत रहेको उनले अदालतमा बयान दिएका छन् ।
भट्टले पत्नीलाई छोएर बोलाउने प्रयास गरेको, सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरेको तथा अन्य जीवन बचाउने उपाय अपनाएको दाबी गरे । त्यसपछि उनले शव टुक्रा पार्न थालेको र सुरुमा खुट्टालाई अलग गर्ने प्रयास गरेको बयान दिएका छन् ।
उनका अनुसार शवलाई बाथरुममा सारेपछि शारीरिक शक्ति नपुगेका कारण पहिलो दिन नै शव टुक्रा पार्ने काम रोकेका थिए । त्यसपछि बेडरुमको ढोकालाई बच्चाको सामान राख्ने स्टेसनले छेकेर छोरीलाई लिन, खाना खुवाउन र सुताउन गएको उनले बताए ।त्यसरात आफू सुत्न नसकेको र परिवारले पूजा गर्ने कोठामा समेत डरका कारण नगएको भट्टले अदालतमा बताएका छन् ।
भट्टमाथि हत्या, शव लुकाएको र शव अपवित्र बनाएको अभियोग लागेको छ । ममताको शव अहिलेसम्म फेला परेको छैन । अगस्ट २०२४ मा पक्राउ परेदेखि भट्ट हिरासतमै छन् ।
ममता यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी काममा उपस्थित नभएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सुरुमा भट्टले आफूले पत्नीलाई अन्तिमपटक जुलाई २९ मा देखेको र उनी हराएको भन्ने आफूलाई विश्वास नभएको बताएका थिए ।
परिवार तथा साथीहरूले भने ममताले आफ्नो छोरीलाई छाडेर जाने सम्भावना नरहेको बताएका थिए । भट्टले अगस्ट ५ मा पत्नी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उनले पत्नीले घर छाड्ने धम्की दिएको र सम्बन्धविच्छेदको कुरा गरेको अनुसन्धानकर्तालाई बताएका थिए ।
अगस्ट २२ मा प्रहरीले भट्टलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा रगतका दाग फेला परेका थिए ।








