रोयटर्स । मध्यपूर्व र रुस–युक्रेन युद्ध अन्त्यका लागि शान्ति वार्तामा प्रगति हुने अपेक्षासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ ।बिहीबार बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.१४ अमेरिकी डलर अर्थात् १.२ प्रतिशतले घटेर ९१.६२ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य पनि १.०४ डलर अर्थात् १.२ प्रतिशतले घटेर प्रतिब्यारेल ८५.४९ डलर कायम भएको छ ।
यसअघि बुधबार ब्रेन्ट क्रुडको मूल्य १.४ प्रतिशत र डब्लूटीआईको मूल्य ०.६ प्रतिशतले बढेको थियो । त्यसको अघिल्लो दिन भने दुवैको मूल्य दुई महिनायताकै न्यून बिन्दुमा पुगेको थियो ।
निसान सेक्युरिटिज इन्भेस्टमेन्टका प्रमुख रणनीतिकार हिरोयुकी किकुकावाका अनुसार रुस–युक्रेन युद्धविरामका लागि पर्दापछाडि प्रयास भइरहेको र अर्को साता हुने अमेरिका–चीन शिखर सम्मेलनअघि इरान युद्ध थप चर्किने सम्भावना कम रहेको अपेक्षाले तेलको मूल्यमा दबाब परेको हो ।
अबुधाबीमा दुई दिनसम्म चलेको रुस–युक्रेन शान्ति वार्तामा दुवै पक्ष युद्धबन्दी आदानप्रदान गर्न सहमत भएका छन् । यद्यपि, भूभागलगायत महत्त्वपूर्ण विषयमा मतभेद कायमै रहेको अमेरिकी मध्यस्थकर्ताहरूले बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै वर्ष युद्ध समाधानका विषयमा ठोस उपलब्धि हासिल गर्ने आशा व्यक्त गरेका छन् ।
यसैबीच, इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले समृद्ध युरेनियमको एक कणसमेत देशबाट बाहिर जान नदिने बताएका छन् । अमेरिकाले पुनः आक्रमण गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनीसमेत उनले दिएका छन् ।
अमेरिकाले इरानसँग युद्ध अन्त्यका लागि हुने प्रारम्भिक वार्तामा आणविक मुद्दा समावेश हुनुपर्ने बताउँदै आएको छ । यद्यपि, अमेरिकी अधिकारीहरूले थप सैन्य आक्रमणको आवश्यकता कम रहेको सङ्केत गरेका छन् ।
अर्कोतर्फ, हर्मुज जलडमरूमध्य हुँदै तेल आपूर्तिमा अवरोध कायमै रहे पनि साउदी अरबको उत्पादनमा भएको उल्लेख्य वृद्धिका कारण अक्टोबरमा ओपेक प्लसको कच्चा तेल उत्पादन बढेको छ ।
अमेरिकी पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को तथ्याङ्क उदृत गर्दै बजार स्रोतहरूले पछिल्लो साता अमेरिकाको कच्चा तेल भण्डारमा ९० लाख ब्यारेल वृद्धि भएको जनाएका छन् । अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) को आधिकारिक तथ्याङ्क बिहीबार सार्वजनिक हुने अपेक्षा गरिएको छ ।








