Logo
९ मंसिर २०८३, बुधबार
|  Wed Nov 25 2026

निजी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार व्यवस्थित गर्न सम्झौता


काठमाडौँ । निजी अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि उपलब्ध गराइने निःशुल्क उपचार सेवा थप व्यवस्थित र पारदर्शी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र निजी स्वास्थ्य संस्था संघ, नेपालबीच सम्झौता भएको छ।

मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीको उपस्थितिमा मन्त्रालय र निजी स्वास्थ्य संस्था संघबीच सम्झौता सम्पन्न भएको हो।नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ। त्यसैगरी, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याएर निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै लक्षित वर्गले निःशुल्क उपचार सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण बनाउन मन्त्रालय र निजी स्वास्थ्य संस्था संघबीच सहकार्य गरिएको हो।

सम्झौताबाट निजी स्वास्थ्य संस्थामा निःशुल्क उपचार सेवाको पहुँच, प्रभावकारिता र पारदर्शिता बढ्ने तथा नागरिकको स्वास्थ्य सेवासम्बन्धी संवैधानिक हक सुनिश्चित गर्न योगदान पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार