Logo
११ मंसिर २०८३, शुक्रबार
|  Fri Nov 27 2026

नागरिकमैत्री,उत्तरदायी र पारदर्शी प्रहरी सेवा प्रवाहमा ध्यान दिन आईजीपी केसीको निर्देशन


काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकमैत्री, उत्तरदायी, पारदर्शी तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमार्फत जनताको भरोसा अभिवृद्धि गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई आईजीपी केसीले उपलब्धिपूर्ण र उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन दिएका हुन् ।

उनले आ–आफ्नो क्षेत्रका सम्भावित सुरक्षा चुनौती पहिचान र विश्लेषण गरी आवश्यकता अनुसार सुरक्षा योजना तथा रणनीति अवलम्बन गर्दै योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद तथा फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर व्यावसायिक, अनुशासित, निष्ठावान र इमानदार भएर काम गर्न उनले निर्देशन दिए ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यकप्रति थप संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आईजीपी केसीले पीडितका गुनासो उचित रूपमा सम्बोधन गरी प्रहरी कार्यालयबाट प्रदान गरिने सेवाहरू सहज र सरल बनाउन जोड दिए ।

त्यसैगरी, आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न, सामूहिक भावना र नवीन सोचका साथ जिम्मेवारी निर्वाह गर्न तथा कार्यालय व्यवस्थापनलाई उत्कृष्ट बनाउन उनले निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार