Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

को बन्ला कांग्रेस सभापति ?


नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै गर्दा सभापतिका आकांक्षीहरु पनि एकपछि अर्को गर्दै बढिरहेका छन् ।
बहालवाला सभापति शेरबहादुर देउवाले पुःन सभापतिमा लड्ने उद्घोष सहित भेटघाटलाई तिव्रता दिएका छन् भने उनी निकट मानिएका विमलेन्द्र निधीले यसअघि नै आफ्नो उम्मेद्वारी सञ्चार माध्यममार्फत घोषणा गरिसकेका छन् । देउवा प्रधानमन्त्री र आफू पार्टी सभापति बन्नेगरी अघि बढ्ने उनको भनाइ रहेको छ । तर, देउवाले निधीको प्रस्तावलाई अस्विकार गरिसकेका छन् । चौधौं महाधिवेशन नजिकिदै गर्दा देउवा र निधीको सम्बन्ध भने टाढिँदो छ ।
तेह्रौं महाधिवेशनमा देउवाको दाहिने हात भएर काम गरेका निधी चौधौं महाधिवेशनमा आइपुग्दा आफैं सभापतिका दाबेदार बनेका छन् । तर, निधीले सभापतिमा आकांक्षा गरेपनि देउवाको सहमति बेगर त्यो पद सजिलो छैन । देउवाले निधीलाई अर्को महाधिवेशनमा सहयोग गर्ने बचन दिएपनि निधीले आफ्नो अडान छोडेका छैनन् । केहीदिनअघि देउवा निवासमा भएको भेटवार्तामा पनि निधीले देउवासमक्ष आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । तर, देउवाले सभापतिमा उठ्न जो कोही पनि स्वतन्त्र हुने भन्दै निधीलाई मनलागेको गर्न भनेका थिए । निधीसँग चिढिएका देउवा त्यसयता कृष्णप्रसाद सिटौला र महामन्त्री शशांक कोइरासँग नजिकिन खोजेका छन् । तर, सिटौला र कोइरालालाई आफ्नो क्याम्पभित्र ल्याउन देउवलाई त्यति सजिलो छैन ।
सिटौलाले सभापतिको दाबी यसपटक सार्वजनिक रुपमा गरेका छैनन् । तर, कांग्रेसमा तेस्रो धारका रुपमा चिनिएका सिटौलाले ढिलोचाँडो आफ्नो उम्मेद्वारी घोषणा गर्ने उनी निकटका नेताहरु बताउँछन् । सभापतिमा उम्मेद्वारी दिनका लागि नेता गगन थापा लगायतले सिटौलालाई बारम्बार आग्रह गरिरहेको तर, उपयुक्त समयमा मात्रै उम्मेद्वारी घोषणा गर्ने भन्दै सिटौलाले आफू निकटका नेताहरुलाई आश्वस्त पारिरहेको बुझिएको छ ।
यता सिटौला खेमामा रहेका युवा नेता गगन थापालाई आफूतिर तान्ने प्रयासमा देउवा रहेका छन् । जीवनको उत्तरार्धमा फेरि सभापति बन्ने रहर गरेका देउवाले युवा पंक्तिको मत आफूतिर तान्नका लागि पनि थापातिर आँखा लगाएको जानकारहरुको भनाइ छ । कांग्रेसको आन्तरिक राजनीतिलाई नजिकबाट नियालिरहेकाहरु भन्छन्, देउवाले यसपटक आफ्नो खेमाबाट गगन थापालाई महामन्त्रीको उम्मेद्वार बनाए भनेपनि आश्चर्य नमाने हुन्छ । आफूलाई महामन्त्रीका रुपमा देउवाले स्विकार गरे भने गगन थापा आँखा चिम्लिएर देउवा क्याम्पमा जाने धेरैको बुझाई छ । पार्टीभित्रका अनेकन गुटभित्र खेल्न खप्पिस देउवाले यसअघि जसरी कांग्रेसको युवा पंक्तिको एक समुहलाई फुटाएर विश्वप्रकाश शर्मालाई आफूतिर तानेका थिए त्यसैगरी यसपटक गगन थापालाई आफूतिर तान्ने प्रयासमा उनी लागिपरेका छन् । त्यो प्रयास सफल हुन्छ या हुँदैन त्यो भने भोलिका दिनमा कांग्रेस गुटहरुमा विकसित घटनाक्रमले प्रष्ट पार्नेछ ।
देउवा भावी सभापतिका पनि बलिया दाबेदार हुन् । तर, यो प्रष्ट हुँदाहुँदै पनि यसपटक उनलाई सजिलो भने छैन । आफू खेमामा रहेका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा दाबी गर्न थालेका छन् । श्रेष्ठ आफ्नो दाबीमा टसको मस भएनन् भने देउवालाई झनै कठिन पर्ने छ । आफू खेमामा रहेका नेताहरु धमाधम भड्किन थाल्दा देउवा स्वभाविक रुपमा चिन्तित छन् । तर, कतिपयले श्रेष्ठको दाबीका सवालमा भने फरक मत व्यक्त गरेका छन् । राजनीतिका पण्डितहरु भन्छन्, निधीले सभापतिमा दाबी गरेपछि श्रेष्ठलाई देउवाले नै उचालेका हुन् । निधीको दाबी कमजोर बनाउने अभिप्रायले देउवा स्वयंले श्रेष्ठलाई अघि सारेको कतिपयको बुझाई छ । अहिले राजनीतिक बजार खपतका लागि श्रेष्ठले आफ्नो उम्मेद्वारी घोषणा गरेपनि अन्तिम समयमा उनी पछि हट्ने आंकलन गरिएको छ ।
देउवा खेमामा रहेकाहरुको उम्मेद्वारी जसरी सञ्चारमाध्यम मार्फत धमाधम घोषणा भइरहेको छ त्यसैगरी रामचन्द्र पौडेल खेमाका नेताहरुले पनि सभापतिमा उम्मेद्वारी घोषणा गर्न थालेका छन् । रामचन्द्र पौडेल स्वयं सभापतिका बलिया दाबेदार हुन् भने उनी खेमामा रहेका शेखर कोइरला, शशांक कोइराला, सुजाता कोइराला पनि सभापतिका दाबेदार हुन् ।
सुजाता कोइरालाले आफूलाई क्यान्सर ठिक भइसकेका कारण आफू अब सभापतिको उम्मेद्वार बन्ने कुरा भर्खरै घोषणा गरेकी छिन् भने डा. शेखर कोइरालाले यसअघि नै आफू सभापतिको दाबेदार रहेको भनिसकेका छन् । महामन्त्री समेत रहेका डा.शशांक कोइरालाले पनि सभापतिमा यसअघि नै दाबी गरिसकेका छन् । कोइराला परिवारका तीनै जना नेताको दाबी सभापतिमा रहेपनि सहमतिमा एकजनालाई अघि सार्नेगरी तयारी भइरहेको बुझिएको छ । कोइराला परिवारले सहमतिमा तीन मध्ये एकजनालाई सभापतिमा अघि सारेको खण्डमा वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबेदारी कमजोर बन्ने निश्चित छ । तर, कोइराला परिवारमा सहमति जुट्ने सम्भावना कमजोर रहेको र त्यसको प्रत्यक्ष लाभ पौडेललाई नै हुने राजनीतिक विश्लेषकहरुको बुझाई छ ।
कांग्रेस महाधिवेशन नजिकिदै गर्दा दाबेदारी धेरै नेताहरुको रहने भएपनि अन्तिममा भिड्ने भनेका देउवा र पौडेल नै हुन् । देउवाले आफ्नो खेमामा रहेका नेताहरुको चित्त बुझाउन सके भने फेरि सभापति देउवा नै दोहोरिन सक्छन् । तर, झोक्की स्वभावका देउवाले केही नेताहरुले गुट परिवर्तन गर्दैमा फरक पर्दैन भन्ने सोचेर त्यही अनुसारको व्यवहार गरे भने चाहिँ उनी कांग्रेसका पूर्वसभापति हुनेछन् र सभापतिको कुर्सीमा पौडेल पुग्नेछन् ।


प्रतिक्रिया दिनुहोस !
विचार