एमालेको दशौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कसरतमा रहेका केपी शर्मा ओली सोचेभन्दा अप्ठ्यारो परिस्थितीबाट गुज्रिएका छन् । महाधिवेशनको बन्द सत्रले ओलीलाई पदाधिकारी र केन्द्रीय कमिटीको नाम प्रस्ताव गर्ने अधिकार दिएपनि त्यसबारे नै भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरुको असहमति रहेपछि ओली अप््ठ्यारोमा परेका हुन् । यद्यपि पेलेरै जाने मुडमा रहेका ओलीले रावल लगायतका नेताहरुलाई पनि समेटेर पदाधिकारी र केन्द्रीय कमिटिको लिष्ट बनाएको बुझिएको छ ।
आइतबार ओलीले सार्वजनिक गर्ने लिष्टमा आफूलाई अध्यक्षमा चुनौती दिएका भीम रावललाई वरिष्ठ उपाध्यक्षमा प्रस्ताव गर्नेछन् । तर, भीम रावलले एक मत मात्रै आएपनि ओलीसँग चुनाव लड्ने घोषणा गरिसकेका कारण उनी ब्याक हुने सम्भावना देखिएको छैन । प्रायः सबैजसो महाधिवेशन प्रतिनिधी ओलीका पक्षमा रहेका कारण प्रतिनिधिले ओलीले पेश गर्ने प्रस्तावमा ताली पिट्ने सहजै अनुमान गर्न सकिन्छ । तर, वरिष्ठ उपाध्यक्षको पद दिँदा पनि भीम रावलले ओलीसँग चुनाव लड्ने अडान छाडेनन् भने रावललाई नराम्रोसँग पराजित गरेर एमालेमा कहिल्यै तंग्रिन नसक्नेगरी अघि बढ्ने योजनामा ओली पक्ष रहेको छ । वरिष्ठ उपाध्यक्षको पद दिँदा पनि हार्ने चुनाव लड्न खोज्नु भनेको रावलको भँडुवा नीति भएको ओली पक्षको ठहर छ । तर, जे भएपनि रावललाई वरिष्ठ उपाध्यक्षको पद दिँदा त्यो सम्मानजनक पद हुने उनीहरुको बुझाई छ ।
ओलीले महासचिवमा ईश्वर पोखरेललाई नै दोहो¥याउँनेगरी लिष्ट तयार गरेको बुझिएको छ । अध्यक्षपछिको शक्तिशाली पद महासचिव नै भएका कारण पोखरेललाई महासचिवमा दोहो¥याउँनेगरी नाम घोषणा गर्ने तयारीमा रहेको ओली निकट एक नेताले बताएका छन् । महासचिवमा दाबी गरिरहेका विष्णु पौडेल र शंकर पोखरेल पनि ओलीको यो प्रस्तावमा सहमत भइसकेको बुझिएको छ । शंकर पोखरेलललाई उपमहासचिव र विष्णु पौडेललाई उपाध्यक्षमा ल्याउँने ओलीको तयारी छ भने सुवास नेम्वाङ, रामबहादुर थापा बादल लगायतका नेताहरुलाई पनि उपाध्यक्षमा ल्याउँने तयारी रहेको छ ।
सचिवमा योगेश भट्टराई लगायतका नेताहरु दोहो¥याउँने तयारी रहेको छ भने प्रदीप ज्ञवालीलाई उपमहासचिव दिने बुझिएको छ । पद बाँडफाँडमा सकस भएकै कारण ओलीको सल्लाहमा विष्णु पौडेलले बन्द शत्रमा पदाधिकारी र केन्द्रीय कमिटिीको संख्या बढाउँने प्रस्ताव गरेका थिए । यसअघि १५ जनाको पदाधिकारी रहेकोमा अहिले त्यो संख्या बढाएर १९ पु¥याइएको छ भने केन्द्रीय कमिटीको सख्ंया पनि बढाइएको छ । १ जना उपमहासचिव रहने यसअघिको विधान महाधिवेशनको निर्णयमा संसोधन गर्दै अहिले उपमहासचिवको संख्या ३ पु¥याइएको छ भने ४ उपाध्यक्ष रहने व्यवस्था गरिएकोमा अहिले त्यो संख्या ६ पु¥याएको छ । ६ जना उपाध्यक्षको व्यवस्था गर्दा आकांक्षीहरुलाई थन्क्याउँन सजिलो हुने ओली पक्षका नेताहरुको ठम्याई बमोजिम यस्तो गरिएको रावल निकट एक नेताले जानकारी दिए ।
पदाधिकारी बाँडफाँडमा सकस भएपछि ओलीले सुवास नेम्वाङलाई पछि राष्ट्रपति बनाउँने र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउँने वचन दिँदै अहिलेलाई आफूले घोषणा गर्ने पदमा चित्त बुझाउँन भनेको नेम्वाङ निकट नेताको भनाई छ । तर, नेम्वाङले एमालेले चुनाव जित्ने र आफू राष्ट्रपति बन्ने ज्ञारेन्टी के छ भनी ओलीसँग सोधेका थिए ।
आफू निकट रहेका अन्य नेताहरुलाई पनि ओलीले एमालेको सरकार बनेपछि सम्मानजनक हैसियत दिने भन्दै आश्वासन दिइरहेको उनी निकट नेताहरुले नै जानकारी दिएका छन् । ओलीले आज प्रस्तुत गर्ने नाम महाधिवेशन प्रतिनिधीहरुको हलले गड्गडाहट तालीका साथ अनुमोदन गर्ने सम्भावना छ । तर, केहीले भने असहमति जनाउँने र त्यस्तो अवस्थामा चुनाव पनि हुन सक्ने बुझिएको छ ।





