नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ। जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् । आइतबार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पिएसओले एक राउण्ड हवाई फाएर गरेका हुन् ।
स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।
मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसगै रहेका पिएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।
भडले प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ ।मन्त्री सिंहका पिएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए । त्यसवेला समेत आक्रोसित नेताकार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पिएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए ।





