सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक आज गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोकिएको छ । इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो ।
आफ्ना लागि पेशी रोज्न न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएको गोला थुतेका छन् । गोलाप्रथाबाट बुधवार ११ वटा इजलास गठन भएको छ । न्यायाधीशहरू मीरा खड्का र कुमार चुडालका लागि एकल इजलासमा पेशी तोकिएको छ ।
यसैगरी न्यायाधीशहरू दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र वमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको छ ।
गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू अब सबै किसिमको नियमित मुद्दा हेर्न इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने कोरोना संक्रमण पुष्टि भएको कारण अस्पतालमा उपचाररत छन् ।