प्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष बामदेव गौतमले हात मिलाएको फोटो यतिबेला सामाजिक सञ्जालमा व्यापक छाएको छ । एमालेको १३ औं केन्द्रीय कमिटीकोे बैठकमा ओली र गौतमले हात मिलाएको फोटोले सामाजिक सञ्जालमा व्यापकता छाएको हो ।
लामो समयपछि दुई नेताबीच भेट हुँदा हात मिलाउनुलाई कतिपयले सामान्य भनेका छन् भने कतिपयले कोरोना महामारीका समयमा हात मिलाएर नेताद्धयले गल्ती गरेको भनेका छन् । ओली र गौतमले यसअघि पटक पटक हात मिलाउँदा त्यो चर्चाको विषय नबनेपनि यसपटक भने कोरोना महामारीका समयमा हात मिलाएका कारण त्यो चर्चा र विवादको विषय बनेको हो ।
हार्दिकता साटासाट गर्नका लागि नेताहरुले हात मिलाएको भएपनि कोरोना संक्रमण फैलिएको यो समयमा त्यसो गर्दा यसले गलत सन्देश जाने केहीको बुझाइ रहेको छ । कोरोना संक्रमण फैलिएपछि हात मिलाउनुको साटो नमस्कार गर्ने नेपाली चलनले नै विश्वभर व्यापकता पाएको थियो ।
कोरोना महामारी शुरु भएपछि हात मिलाउने चलनलाई हानिकारक चलनका रुपमा लिदै अमेरिकाका तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि लिएर चीनका राष्ट्रपति सि सम्मले हात मिलाउन छोडेका थिए । हात मिलाउनुको साटो भेट्दा या छुट्टिदा नमस्कार गर्ने सिको उनीहरुले समेत गरेका थिए ।
हात मिलाउने चलन विदेशी र नमस्कार गर्ने चलन नेपाली रहेको भन्दै यसप्रति नेपालीले गर्व गरेका थिए भने सरकारी तथा नीजि सञ्चार माध्यमले पनि हात मिलाउन निरुत्साहित गर्नेगरी जनहितमा सन्देश जारी गरेका थिए । तर, कोरोना महामारी जारी रहेकै बेलामा प्रधानमन्त्री र सत्तारुढ दलका उपाध्यक्ष नै हात मिलाएपछि भने यो यतिबेला आलोचनाको विषय बनेको छ ।