चितवनको राप्ती नगरपालिका वडा नं ३ निवासी सुजिता भण्डारीको अपहरणपछि हत्या भएको पाइएको छ ।
असार ११ गते बिहानबाट हराइरहेकी २१ वर्षिया सुजिताको शव घरदेखि केही माथि रहेको ब्रम्हास्थानी बनमा फेला परेको चितवन प्रहरीले जनाएको छ । ११ गते बिहान साथीको घरमा तरकारी लिन जान्छु भनी निस्किएकी सुजिताले त्यसको केही घण्टापछि आफू अपहरणमा परेको खबर दिदी कवितालाई गरेकी थिइन् । आफूलाई गाडीमा राखेर दुईजना आइमाई मान्छे र एकजना केटा मान्छेले टाउकोमा हिर्काउँदै लगेको भन्दै ज्यान बचाइदिन आग्रह गर्दै फोन गरेको कविताले सञ्चार माध्यमलाई जानकारी दिएकी थिइन् ।
त्यही दिन परिवारले खोजीका लागि प्रहरीसँग आग्रह गरेको थियो भने अपहरणमा परेको विषय केही सञ्चार माध्यममा समेत आएको थियो । तर, प्रहरीको अनुसन्धान जिवित उद्धारका लागि सफल हुन सकेन ।
अपहरणमा परेको व्यक्तिले नै म अपहरणमा परेँ भनेर फोन गर्दा समेत प्रहरीले फेला पार्न नसक्नुलाई प्रहरीको फितलो अनुसन्धानका रुपमा स्थानीयले लिएका छन् । प्रहरीले भने आफूहरुको प्रयासप्रति शंका नगर्न आग्रह गरेको छ ।