राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । पुर्व अध्यक्ष कमल थापाका लागि भने थापाले प्रयोग गर्दै आएको कुर्सी नै छुट्याइएको छ ।
लिङ्देनले अध्यक्षका रुपमा कमल थापाले प्रयोग गर्ने गरेको कोठा समेत प्रयोग गरेका छैनन् । चाबहिलस्थित पार्टी कार्यालयमा पूजाआजा सहित उनले आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् ।
आफू कुर्सीमा बस्न चाहेर अध्यक्ष नबनेको बताउँदै लिङ्देनले पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको बताए ।
अध्यक्षमा पराजित भएपछि थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप रहेको भनेर सार्वजनिक गरेको अभिव्यक्तिप्रति लिङ्देनले खेद समेत व्यक्त गरेका छन । आफ्नो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक रहेको भन्दै उनले यो महाधिवेशन प्रतिनिधिप्रति अविश्वास नगर्न थापालाई सुझाव समेत दिए ।








