Logo
१९ भाद्र २०८३, शुक्रबार
|  Fri Sep 4 2026

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना


पश्चिमी वायुको प्रभावले हिउँदे वर्षाको क्रम बढेसँगै हिमाली भेगमा हिमपात हुने भएको छ। विगत केही दिनयता अकस्मात् मौसममा बदली देखिने र हल्का वर्षा हुने क्रम बढेको छ। पश्चिमी न्यूनचापीय प्रणाली आइतबारदेखि केही सक्रिय बनेकाले मुख्य गरी नेपालको पश्चिमी भेग छोएका हिमाली क्षेत्रमा हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा बदलीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हल्का वर्षाको क्रम बढेसँगै देशभर चिसो बढ्ने क्रममा रहेको छ। तथापि हिउँदको समय अझै बाँकी रहेकाले वर्षाको आशा कायमै रहेको छ। यस वर्ष मनसुनलगत्तैको बेमौसमी वर्षाका कारण पनि जमिनमा आद्रता कायमै रहेकाले चिसो छिटो बढेको जलवायु विश्लेषण महाशाखाका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले बताइन्। चिसो बढेसँगै तराई भेगमा हुस्सु, कुहिरो र शीतलहरको चाप पनि बढ्न थालेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान र राति तराई र पहाडी भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो बढ्न थालेको हो। आगामी केही दिन वर्षा र हिमपातका कारण हुस्सु र कुहिरोमा थप बढोत्तरी हुने सम्भावना छ। यसका कारण लामो दूरीका सवारी यातायातका साथै हवाई उडानसमेत प्रभावित हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार