नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई अरुको नीतिको पछि लाग्ने नभइ आफ्नो नीतिमा अरुलाई पछि लगाउन आग्रह गरेका छन्। कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।
‘नेपाली कांग्रेस सबैलाई साथ लिएर अघि बढोस् मेरो कुनै आपत्ति छैन’, ओलीले भने, ‘तर नेपाली कांग्रेस अरूका नीतिका पछाडि होइन अरुलाई आफ्ना नीतिमा अरुलाई हिँडाओस्।’ उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्रै होइन सरकारको नेता पनि हुन भन्दै व्यंग्यात्मक शुभकामना दिए।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले केही साना दलहरूलाई कांग्रेसले औँलो समाउन दिएन भने के होला भन्ने चिन्ता रहेको टिप्पणी गरे।
सम्बोधनको सुरुमै उनले आफूले कसैको कुरामा वाद प्रतिवाद नगर्ने भन्दै उनले आफूलाई राजनीति गर्न मञ्चको कुनै कमी नरहेको बताए।





