नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म राष्ट्रिय सभा गृह र नेपाल पुलिस क्लबमा मतदान केन्द्र तोकिएको छ। र्वाचनमा २९ प्रकारका मतपत्र व्यवस्था गरिएको छ ।
मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गरिनेछ । तीन स्थानमा मतदान केन्द्र र एक हजार एक सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ। राष्ट्रिय सभागृहमा राखिएका २९३ बुथबाट केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ-शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।
त्यस्तै भृकुटीमण्डप प्रांगणमा राखिएका २९३ बुथबाट प्रदेश २ र गण्डकी प्रदेशका प्रतिनिधि र भृकुटीमण्डपको हलमा राखिएका ५१४ बुथबाट प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । केन्द्रीय कार्यसमिति सदस्यका लागि ४९१ जना चुनावी मैदानमा उत्रिएका छन्।
१३ जना पदाधिकारीसहित १३४ पदका ४९१ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका निर्वाचन समितिले जनाएको छ। शनिबार ५४८ जनाले उम्मेदवारी दर्ता गरेकामध्ये आइतबार ६१ जनाले आफ्नो मनोनयन फिर्ता लिएसँगै ४९१ जना चुनावी मैदानमा रहेका हुन्।
मतदान सकिएपछि आजैबाट मतगणना सुरु हुनेछ । पहिला सभापतिका उम्मेद्वारको मतगणना हुनेछ भने त्यसपछि अन्यको मतगणना गरिनेछ । विद्युतिय मतदान नभएकोले मतपरिणाम आउन भने समय लाग्ने भएको छ ।





